`

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा सरकारका सबै संयन्त्र परिचालन : अर्थमन्त्री

Nepal One HD १८ कार्तिक २०८० १२:३०
अर्थ समाचार

काठमाडौ– अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा सरकारका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को कार्यक्रममा अर्थमन्त्री महतले गएरातिदेखि नै भूकम्पपीडितको राहत र उद्धारमा तीनै तहका सरकारअन्तर्गत सबै संयन्त्रहरु परिचालित भइरहेको जानकारी दिए । भूकम्पबाट पश्चिम नेपालको खासगरी रुकुम र जाजरकोट जिल्लामा ठूलो जनधनको क्षति भएको विवरणहरु प्राप्त भइरहेको जनाउँदै अर्थमन्त्री डा महतले यस विपत्तिको घडीमा सबै पक्षबाट सहयोगका लागि अपिल गरे ।

उनले भूकम्पबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरे । अर्थमन्त्री डा महतले प्राकृतिक विपत्तिका घटनाको दीर्घकालीन समाधान र तयारीका निम्ति आवश्यक कार्य गर्न जरुरी भएको उल्लेख गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्पपीडितको राहतका लागि महासंघले सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि भूकम्प प्रभावित क्षेत्रमा आर्थिक सहयोग गर्ने बताए ।


प्रतिक्रिया