`

३७औँ क्यासी सम्मेलन काठमाडौँमा सुरु, राष्ट्रपतिबाट सम्मेलनको शुभारम्भ

Nepal One HD २० कार्तिक २०८० १७:५३
अर्थ समाचार

काठमाडौँ, २० कात्तिक : एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा ३७औँ क्यासी सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । दुईदिनसम्म चल्ने उक्त सम्मेलनको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो ।

राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा व्यक्त गर्नुभयो । “नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सम्मेलन आयोजना गर्न पाउनु नेपालका लागि गर्वको कुरा भएको बताउनुभयो । विश्वका मुलुक पहिलेभन्दा धेरै अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उहाँले प्रविधि, व्यापार र सञ्चारमा भएको दु्रतगतिको विकासले भावी जीवनलाई आकार दिनाका साथै विश्वव्यापीकरणले राष्ट्रहरूलाई नजिकसमेत ल्याएको बताउनुभयो । विश्वव्यापी परिदृश्यको जाँच गर्दा विकासका विभिन्न पक्षहरू जस्तै औद्योगिकीकरण, उद्यमशीलता, दिगोपन, असमानता, हाम्रो भविष्य र राज्यको भूमिकालाई विचार गर्नुपर्ने उहाँको धारणा थियो र

आजको बजारमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्नका लागि साना र मझौला उद्यमीले आफ्नो ब्राण्ड बढाउन र पुँजीमा पहुँच बढाउन र व्यावसायिक जोखिम व्यवस्थापन गर्नका लागि सक्षम हुन दिगोपना महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मेलन दिगोपन, उद्यमशीलता र व्यापारमा केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुलुकको आर्थिक विकासका प्रमुख स्तम्भ यिनै हुन् । हामी एशिया–प्रशान्त क्षेत्रका लागि अझ समृद्ध भविष्य सिर्जना गर्ने आकाङ्क्षा राख्छौँ । दुई आर्थिक शक्तिराष्ट्रहरु भारत र चीनको बीचमा अवस्थित नेपालले एशिया प्रशान्त क्षेत्रमा रणनीतिक स्थान ओगटेको छ । यो सम्मेलनले व्यापार सञ्जाल, लगानीका अवसरको खोजी र बहुमूल्य विचार आदानप्रदानका लागि महत्वपूर्ण प्लेटफर्मका रूपमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

अध्यक्ष ढकालले नेपालबाट आयातित जलविद्युत्लाई आफ्नो नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयले भारतको बजारलाई थप वृद्धि गर्ने अपेक्षा गर्नुभयो ।

नेपालमा जलविद्युत् प्रचुर मात्रामा रहेकाले यहाँको दिगो आर्थिक विकासका लागि स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्नसक्ने स्थितिमा रहेको उहाँको भनाइ थियो । नेपालको ऊर्जा क्षेत्रमा लगानी र सहकार्यको सम्भावना खोजी गर्न एशिया प्यासिफिकको निजी क्षेत्रलाई अध्यक्ष ढकालले आग्रह पनि गर्नुभयो ।

अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल सधैँ लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै उहाँले सगरमाथालगायत विश्वका अग्ला हिमालको भूमि भएकाले यहाँ एशिया–प्रशान्त क्षेत्रबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिनेसमेत बताउनुभयो । विश्वसँग राम्रो ‘कनेक्टिभिटी’ स्थापना गर्न विश्वस्तरीय होटल र विमानस्थललगायत महत्वपूर्ण चार वटा पर्यटन पूर्वाधारमा लगानी भइसकेको र केबलकार, लक्जरी होटल तथा रिसोर्ट, थिम पार्क, हिलस्टेसनलगायत अन्य धेरै क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको अध्यक्ष ढकालको भनाइ थियो

क्यासी अष्ट्रेलियाका अध्यक्ष पिटर एमसीमुल्लिन एएमले उद्यमशीलता र विशेष गरी समावेशी उद्यमशीलताले हाम्रा केही अत्यावश्यक चुनौती समाधान गर्न नयाँ विचार भएका मानिसलाई समर्थन गर्ने बताउनुभयो । उहाँले उद्यमीहरूलाई समर्थन गरेर नयाँ प्रविधिहरू समावेश गरी तिनका विविध समूहलाई समर्थन गरेर र नवप्रवर्तनलाई फस्टाउनका लागि अनुमति दिए न्यायपूर्ण अर्थतन्त्रतर्फ लैजान नयाँ व्यापारको मोडेल देखाउन सकिने बताउनुभयो ।सम्मेलनमा अष्ट्रेलिया, हङकङ, पाकिस्तान, इरान, साउथ कोरिया, टर्की, सिङ्गापुर, ताइवान, रसिया, फिलिपिन्स, भारतलगायत मुलुकका प्रतिनिधि सहभागी छन् ।


प्रतिक्रिया