`

उपप्रधानमन्त्री खड्काको युएई भ्रमण स्थगित

Nepal One HD २३ कार्तिक २०८० १२:३३
प्रमुख खबर

काठमाडौ– उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि तय भएको संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमण स्थगित गरेका छन् । दुबईमा आयोजना हुन लागेको १८औँ दुबई एयरशो, २०२३ मा सहभागी हुन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो । यसका लागि यही कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणको स्वीकृति पनि दिएको थियो ।

तर, गएको शुक्रबार राति जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गर्नुभएको रक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“भूकम्प गएपछि जाजरकोट र रुकुमपश्चितलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको र प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयम् निरन्तर क्रियाशील रहनुभएकाले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया