`

भान्सामा भारतीय तरकारी

Nepal One HD ११ मंसिर २०८० १२:३५
अर्थ समाचार

झापा– नेपालको पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । आर्थिक वर्ष २०८०/०८१ को साउन, भदौ र असोज महिनामा भारतबाट ४७ करोड ९७ लाख ६० हजार रुपैयाँ बराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको तथ्याङक छ । उक्त अवधिमा नेपालबाट भने ९ करोड ६५ लाख ७२ हजार आठ सय रुपैयाँ बराबरका ६ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको छ ।

नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा बढी छन् । यीमध्ये सबैभन्दा बढी बन्दाकोभी निर्यात भएको छ । तीन महिनाको अवधिमा ९ करोड ५४ लाख ७२ हजार मूल्य बराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी निर्यात भएको छ । यसैगरी गोलभेँडा पाँच लाख १२ हजार रुपैयाँ बराबरे २६ मेट्रिक टन र पाँच लाख ८९ हजार मूल्यबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुँदै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भारतबाट गोलभेँडा मात्रै १९ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरको ९ हजार ६ सय ८७ मेट्रिक टन आयात भएको छ । सोही अवधिमा भारतबाट २ करोड ७ लाख ८० हजार मुल्य बराबरको १ हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र तीन करोड ७१ लाख ८० हजार रुपैयाँ बराबरको १ हजार ८ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ ।
कोदो र आलुमा पनि भारतकै भर

नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा २३ करोड ६१ लाख ६० हजार रुपैयाँ बराबरको ४ हजार ९ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । सोही अवधिमा भारतबाटै ९९ करोड ८९ लाख ४ हजार रुपैयाँ बराबरका ४१ हजार ६ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ । ती महिनामा १ अर्ब ८६ करोड ६५ लाख ६३ हजार रुपैयाँ बराबरको ३६ हजार सात सय ३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ ।

काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसाला बाली र बीउबिजन गरी ५ अर्ब १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको बस्तु आयात भएको छ ।


प्रतिक्रिया