मंसिर १४ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने


काठमाडौ– नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हरेक बर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस बर्ष मंसिर १४ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यापार मेलाबारे जानकारी गराएको हो ।
काठमाडौंको भृकुटीमण्डपमा हुने व्यापार मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश लगायतका देशबाट व्यापारीको सहभागिता हुने महासंघले जनाएको छ । त्यस्तै मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट ४० स्टल रहने र चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरु रहनेछन् । कुल २१० वटा स्टलहरुमार्फत मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाहरुको प्रदर्शनी रहने महासंघका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । मेलाले स्वदेशी बस्तुको प्रवद्र्धन गर्न मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे ।
मेलाका अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारी प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष ढकालले जानकारी दिए । कोभिड महामारीपछि हुन लागेको मेलाको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।