`

कारोबारको दोस्रो दिन पनि घट्यो नेप्से

Nepal One HD १८ मंसिर २०८० १५:३६
अर्थ समाचार

काठमाडौ– सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै रहेको छ ।
आइतबार ७.२९ अंकले घटेको नेप्से परिसूचक आज ३४२ अंकले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक १८४७.८१ विन्दुमा कायम भएको छ । आज विभिन्न कम्पनीका २ सय ९२ कम्पनीको ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता शेयर ४३ हजार चार सय २८ पटक खरिदबिक्री हुँदा एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ०२, वित्त समूह शून्य दशमलव ५५, जीवन बीमा समूह शून्य दशमलव ९७, म्युचुअल फन्ड शून्य दशमलव १५ र निर्जीवन बीमा समूह शून्य दशमलव ३५ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ र अन्य समूहको उपसूचक समान शून्य दशमलव ६२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव १२, लगानी शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३५, लघुवित्त शून्य दशमलव ०३ र व्यापार समूह शून्य दशमलव ४५ अङ्कले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ०६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मुल्यमा समान नौ दशमलव ९९ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सात करोड ४६ लाख ३१ हजार सात सय २३ बराबरको दुई लाख ४८ हजार एक सय ९३ कित्ता शेयर किनबेच भएको छ ।


प्रतिक्रिया