राष्ट्रियसभा सदस्य निर्वाचन, कोशीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशको मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधिश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन अधिकृतको कार्यालयको आरम्भ गरेका हुन् ।
सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद पोखरेलले निर्वाचनलाई तीन वटा सुरक्षा घेरामा राखेर सुरक्षा व्यवस्था कडा बनाउने बताए ।
त्यस्तै निर्वाचन अधिकृत ढुङ्गेलले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सवै सवैपक्षलाई आह्वान गरे । उनले स्वतन्त्र स्वच्छ र निश्पक्ष निर्वाचन सम्पन्न गर्न सवैको सहयोग रहने भन्दै १२ वटै राजनीतिक दलका प्रतिनिधिहरुसँग चाँडै बैठक गरि छलफल गरिने जानकारी दिए । कोशी प्रदेशमा २ पदका लागि निर्वाचन हुँदैछ । एक महिला र एक अन्य पदको निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए । राष्ट्रिय सदस्य निर्वाचनको कार्यक्रम पुस २० गतेदेखि शुरु हुने र निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७४ गरि ३६७ जना मतदाता रहेको उनले जानकारी दिए । आगामी फागुन २० गतेदेखि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक सहित २० जनाको कार्यकाल सकिदैछ ।