`

काठमाडौंमा माघीको रौनक(फोटोफिचर)

Nepal One HD १ माघ २०८० १६:२०
समाचार

काठमाडौं । माघे सङ्क्रान्ति तथा माघी पर्व । विशेषगरी थारू समुदायले माघे संक्रान्तिलाई माघी पर्वको रूपमा मनाउने गर्छन् । माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका छन् । माघीका अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्याली समेत गरिएको हो ।

मेलामा माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनले भmकिझकाउ बनाएको थियो । मेलामा ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारहरु राखिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ। पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारू समुदायले माघीलाई नयाँ वर्षको रूपमा मनाउँछन् । आजदेखि उत्तरायण सुरु भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका नदीमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्छ। ती ठाउँमा मेला पनि लाग्ने गर्दछ ।

नेपाली समाजमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने प्रचलन छ । थारु समुदायमा माघीमा आफ्ना चेलीबेटीलाई उपहार दिने चलन छ। माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ । माघी पर्वलाई नयाँ वर्षको रूपमा लिने थारू समुदायले पुस मसान्तसम्म आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने प्रचलन छ ।


प्रतिक्रिया