`

एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड– पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

Nepal One HD ३ माघ २०८० १५:४२
खेलकुद

काठमाडौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गरी मञ्चले पिपल्स च्वाइस अवार्ड अन्तर्गत पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । जस अनुसार फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, शारीरिक सुगठनकी रजनी श्रेष्ठ र टेबल टेनिसकी सिक्का सुवाल रहेका छन् ।

पिपल्स च्वाइस अवार्डको बिजेता मञ्चमा आवद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई सेवाको भोटिङबाट चुनिने मञ्चले जनाएको छ । ई–सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुनेछ ।

आगामी माघ २८ गते हुने पल्सर स्पोर्ट्स अवार्डको अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउने मञ्चले जनाएको छ ।


प्रतिक्रिया