अयोध्याको नवनिर्मित मन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा


बीबीसी । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्या नगरमा बनाइएको भव्य राममन्दिरको उद्घाटनका अवसरमा आयोजित विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका छन् । सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६औँ शताब्दीको मस्जिदलाई त्यसले विस्थापन गरेको छ । उक्त विध्वंसपश्चात् देशभरि दङ्गा फैलिँदा झन्डै दुई हजार जनाको ज्यान गएको थियो ।
मन्दिर निर्माणले उक्त तनावग्रस्त नगरमा रामको मन्दिर बनाउने हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा पूरा भएको छ । हिन्दूहरू रामलाई भगवान् विष्णुको अवतार मान्छन् । तर केही हिन्दू सन्त नेता तथा विपक्षीहरूले भने मन्दिरमा हुन लागेको प्राणप्रतिष्ठालाई नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै आफू उक्त कार्यक्रममा सहभागी नहुने घोषणा गरेका थिए ।
अयोध्या रामको जन्मभूमि भएको अनि रामको जन्मस्थानमा रहेको मन्दिर मुस्लिम अतिक्रमणकारीहरूले भत्काएर त्यहाँ बाबरी मस्जिद ठड्याएको कैयौँ हिन्दूहरूले विश्वास गर्छन् । बाबरी मस्जिद भत्काइएको झन्डै तीन दशकपछि अयोध्यामा राम मन्दिर बनेको हो । सोही स्थानमा राममन्दिर बनाउने अभियान चलाएकै कारणले भारतीय जनता पार्टीको सन् १९९० को दशकमा राजनीतिक उदय भएको हो ।
झन्डै २१ करोड ७० लाख अमेरिकी डलरको लागतमा बनेको नयाँ मन्दिर तीनतले छ । पिङ्क स्यान्डस्टोन तथा ब्ल्याक ग्रनाइटले बनेको उक्त संरचना ७.२ एकडमा फैलिएको छ। समग्र मन्दिर परिसर झन्डै ७० एकडमा फैलिएको छ ।
प्रधानमन्त्री मोदीले अहिले केवल भुइँतलाको मात्र उद्घाटन गरेका हुन्। बाँकी भागको निर्माण कार्य यो वर्षको अन्त्यतिर सम्पन्न हुने बताइएको छ । मन्दिरमा राख्न बनाइएको करिब सवा चार फिट अग्लो रामको मूर्ति गत साता मात्र सार्वजनिक गरिएको थियो ।
मूर्तिलाई मन्दिरको गर्भगृहमा रहेको सिङ्गमरमरको आसनमा विराजमान गराइएको छ । सोमबारको समारोहमा रामको प्रतिमामा प्राणप्रतिष्ठा गरिएको छ। त्यस क्रममा धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवं वैदिक विधिविधानमार्फत् मूर्तिलाई ‘जीवन्त’ बनाइएको छ । प्रधानमन्त्री मोदीले मन्दिर निर्माणलाई ठूलो उपलब्धिको सङ्ज्ञा दिएका छन् र समस्त देशले जनवरी २२ लाई व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको बताएका छन् ।