`

इरान र पाकिस्तानका राजदूतहरू जनवरी २६ सम्म आ–आफ्नो काममा फर्किने सहमति

Nepal One HD ९ माघ २०८० ९:०३
विश्व

इरान र पाकिस्तानले गत साता एकआपसमा घातक हमला गरेपछि बढेको तनावलाई कम गर्न सहमत भएसँगै दुवै मुलुकका राजदूतहरूले आफ्नो काम सुरु गर्ने घोषणा गरेका छन् ।

तेहरान र इस्लामाबादमा विदेश मन्त्रालयहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै मुलुकका राजदूतहरू जनवरी २६ सम्म आ–आफ्नो पदमा फर्किन सक्ने सहमति भएको उल्लेख छ । इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले पनि आफ्ना पाकिस्तानी समकक्षी जलिल अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ ।

जिलानी र अमिर–अब्दुल्लाहियानबीच टेलिफोन वार्तापछि यस्तो निर्णयको घोषणा गरिएको हो । इरानले आफ्नो भूमिमा हमला गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा त्यस्तै प्रकारको ‘आतङ्कवादी लक्ष्यहरू’ मा हवाई हमला गरेको थियो ।

कम्तीमा दुई बालबालिकाको मृत्यु हुने गरी भएको इरानी हमलालाई लिएर पाकिस्तानले कडा आलोचना गरेको थियो र उसले तेहरानबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो भने इरानका राजदूतलाई इस्लामाबाद आउन रोक लगाएको थियो ।


प्रतिक्रिया