`

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

Nepal One HD २० माघ २०८० १६:२२
खेलकुद

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटको उपाधि विभागीय क्लव नेपाल पुलिसले जितेको छ । शनिबार भएको फाइनलमा अर्को विभागीय क्लव त्रिभुवन आर्मी क्लवलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।

पुलिसले यसअघि सन् २०१९ मा भएको तेस्रो संस्करणको प्रधानमन्त्री कपको उपाधि जितेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको १८२ रनको लक्ष्य पुलिसले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।

पुलिसका लागि शंकर रानाले अविजित ६२ रनको पारी खेले । त्यस्तै आरिफ शेखले अविजित २७ रन बनाए । अर्जुन साउदले ३६ रन जोड्दा अमृत श्रेष्ठ २८ रन बनाउँदै आउट भए । त्यस्तै कुशल भुर्तेलले १४ रनको योगदान गरे ।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, शाहब आलम र बसिर अहम्मदले समान एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।


प्रतिक्रिया