विश्वकप लीग २ क्रिकेट: नेपाल चारवर्षे चक्रमा प्रवेश


क्यानडाविरुद्धको दुई खेलमा लगातार अर्धशतक र शतक प्रहार गरेपछि अनिल साहलाई सोधिएको थियो – विश्वकप लीग २ मा नाम छैन। कस्तो लागिरहेको छ? उनले जबाफ दिए – “त्यो मेरो क्षेत्र होइन। मैले सक्ने भनेको खेलिरहने हो। आफ्नो कर्म गरिरहने हो। मेरो वशमा त्यति मात्रै छ।”
अनिल साहलाई उनले गरेको कर्मको प्रतिफल तुरुन्तै प्राप्त पनि भयो। बिहीवारबाट सुरु हुने विश्वकप लीग २ को सूचीमा नपरेका उनलाई प्रशिक्षक मोन्टी देसाईले अन्तिम समयमा टोलीमा समाविष्ट गरे।क्यानडासँगको शृङ्खलामा राम्रो प्रदर्शन गर्ने अनिल साहसहित युवा टोलीका कप्तान देव खनाललाई टोलीमा राखिएको छ भने विकेटकीपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।
बुधवार आयोजित प्रि-म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक मोन्टी देसाईले भने, “जब कुनै खेलाडीले असाधारण खेलिरहेको छ र ‘विन्डो’ खुल्ला छ भने त्यस्ता खेलाडीलाई राख्नु टीमको चाहना हो।”विश्वकप लीग २ को प्रत्येक खेल कति महत्त्वपूर्ण छ भन्ने बुझेका प्रशिक्षक देसाई खेलाडी छनोटमा निकै गम्भीर देखिनु स्वाभाविक नै थियो।
चारवर्षे चक्र
विश्वकप लीग २ मा प्रत्येक खेलबाट प्राप्त हुने अङ्क उत्तिकै महत्त्वपूर्ण छ।असोसिएट ओडीआई क्रिकेट राष्ट्रबीचको चारवर्षे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको चक्रको विशेष महत्त्व छ।
यसले असोसिएट राष्ट्रको क्रिकेट ह्वात्तै उकास्ने काम गरेको देखिएको छ।नेपाली क्रिकेटको ज्यान त यही प्रतियोगिताका कारण जोगिएको हो भन्दा फरक पर्दैन।चार वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त हुने मौका पाएको नेपालले ओडीआई मान्यता जोगाउँदै विश्वकप छनोट खेल्नुका साथै सन् २०२३-२०२७ सम्मको चक्रमा स्थान बनाएको थियो।
यसपालि ओडिआई चक्रमा आठ राष्ट्र – क्यानडा, नामिबिया, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, अमेरिका र यूएईबीच चार वर्षसम्म प्रतिस्पर्धा चल्ने छ।अघिल्लो चक्रमा सूपर लीग खेलेको नेदरल्यान्ड्स यसपालि लीग २ मा थपिएको छ।
यी सबैले त्रिकोणात्मक शृङ्खलाको स्वरूपमा कुल १४४ एकदिवसीय खेल खेल्ने छन्। त्यसबाट शीर्ष चार टोलीले एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोट खेल्ने छन्।
गत चक्रमा जस्तै तल पर्ने चार टोलीको एकदिवसीय सम्भावना समाप्त हुने छ। तर तिनले प्ले-अफबाट फेरि ओडीआई मान्यता जोगाउने अवसर पाउने छन्।क्यानडा प्ले-अफको बाटो हुँदै ओडीआई मान्यता जोगाएर यो चक्रमा छिर्न सफल भएको थियो।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।