नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य


काठमाडौं । एसीसी महिला प्रिमियर लिग अन्तर्गतको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालम्पुरमा रहेको बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ११५ रन बनाएको हो ।
नेपालले पहिलो विकेट १० रन बनाउँदा गुमाएको थियो । खेलको चौथो ओभरको अन्तिम बलमा ६ रन बनाएकी सीता रानामगरलाई पहिलो विकेटको रुपमा गुमाएको हो । त्यसपछि नेपालको दोस्रो विकेटका लागि कविता कुँवर र इन्दु बर्माले ३५ रनको साझेदारी गरे ।
खेलको १०.१ ओभरमा २३ रन बनाउँदै कविता कुँवर आउट भइन् । कप्तान इन्दु बर्मा र रुबिना क्षेत्री बेलबासेले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । खेलको १५.२ ओभरमा रुबिना २० रन बनाएर पेभिलियन फर्किइन् ।
नेपालले ९९ रन जोड्दा चौथो विकेट गुमायो । कप्तान इन्दु बर्मा खेलको १८ औं ओभरको अन्तिम बलमा २९ रनमा आउट भइन् । त्यसपछि नेपालको पारी डोली भट्ट र कविता जोशीले सम्हाल्ने क्रममा डोली खेलको १९.५ ओभरमा नेपालको स्कोर ११३ रन हुँदा कविता जोशी दुइ रनमा रनआउट भइन् । त्यसको अर्को बलमा नेपालकी डोली भट्टले दुई रन लिँदै रन आउट भइन् । उनी २५ रनमा रनआउट भएकी हुन् ।