`

नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो

Nepal One HD ४ फागुन २०८० १४:३१
खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको हो । बायोमास ओभलमा भएको खेलमा नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको हो ।

जितसँगै मलेसिया एसियाकपका लागि छनोट भएको छ भने नेपाल छनोट हुन असफल रह्यो । मलेसियालाई जित दिलाउन एल्सा हन्टरले ६९ रनको अविजित पारी खेलिन् । उनले ५३ बलमा ६ चौकाको मद्दतले ६९ रन बनाइन् ।

त्यस्तै माहिरा इज्जाती इस्माइलले १६, मास इल्साले १३ र वान जुलिया ११ रनको योगदान गरिन् । नेपालका लागि सीता रानामगर र कविता जोशीले दुई दुई विकेट लिँदा कविता कुँवर र रुबिना क्षेत्री बेलबासेले एक एक विकेट लिए । यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

नेपालले पहिलो विकेट १० रन बनाउँदा गुमाएको थियो । खेलको चौथो ओभरको अन्तिम बलमा ६ रन बनाएकी सीता रानामगरलाई पहिलो विकेटको रुपमा गुमाएको थियो । त्यसपछि नेपालको दोस्रो विकेटका लागि कविता कुँवर र इन्दु बर्माले ३५ रनको साझेदारी गरेका थिए ।

खेलको १०.१ ओभरमा २३ रन बनाउँदै कविता कुँवर आउट भइन् । उपाधिका लागि शनिबार घरेलु टोली मलेसियाले युएईसँग खेल्ने छ । आजै भएको पहिलो सेमिफाइनलमा थाइल्याण्डलाई ४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।


प्रतिक्रिया