`

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी माओवादी नेतालाई ४ करोड रुपैयाँ भन्दाबढी जरिवाना

Nepal One HD ६ फागुन २०८० १८:२२
अपराध

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरीलाई ४ करोड ३ लाख ३४ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । विशेष अदालतले यसअघि नै उनलाई दोषी ठहर गर्दै आज सजाय निर्धारणका लागि तोकेको थियो ।

आइतबार अदालतले पुरी र उनकी श्रीमती सीमा भनिने केशावती पुरीलाई ४ करोड ३ लाख ३४ हजार ८९४ रुपैयाँ जरिवाना सुनाइएको छ । त्यसैगरी अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएका सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसलामा उल्लेख गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन् ।

उनीहरुसँग प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीले भने सफाइ पाएका थिए । कृष्णकुमारी पुरी र संगीता पुरीको नामको जग्गा जफत नहुने फैसला भएको छ । झापाको दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया