`

आईसीसी विश्वकप लिग–२, नामिबियामाथि नेदरल्यान्ड्सको सहज जित

Nepal One HD ७ फागुन २०८० १४:२०
खेलकुद

काठमाडौ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान किर्तिपूरमा आज भएको खेलमा नेदरल्याण्डस्ले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । नामिबयाले दिएको १ सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रन बनाए । उनले ८१ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए ।
म्याक्स ओ डाओडले २८ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । बास डी लिडेले २१ रन बनाए ।

नेदरल्याण्ड्सका आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबिया ३५.१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट भएको थियो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए । त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । आजको खेलपछि तीनै टोलीले २–२ अंक पाएका छन् । नेट रनरेटको आधारमा नेपाल पहिलो, नामिबिया दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।


प्रतिक्रिया