`

काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न रक्षामन्त्री उप्रेतीको निर्देशन

Nepal One HD २४ फागुन २०८० ८:०३
राजनीति

काठमाडौँ – नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न मन्त्रालय र नेपाली सेनाका उच्चअधिकारीलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित कार्यालयमा बुधबार पदबहाली गर्दै मन्त्री उप्रेतीले नेपाली जनताको आशा र अपेक्षाको विषय रहेको उक्त आयोजनामा ढिलाइ भएको विषयमा आफू जानकार रहेको र अब निर्धारित समयमै सकाउन मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताउनुभयो । उहाँले राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र विकासमा मन्त्रालय तथा नेपाली सेनाले देखाउँदै आएको क्रियाशीलतालाई कायम राखी प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री उप्रेतीले नेपाली जनताको अगाध आस्था र विश्वासको धरोहर रहेको नेपाली सेनाको क्षमता विकासका काममा प्राथमिकता दिइने बताउनुभयो । उहाँलाई मन्त्रालयका सचिव किरणराज शर्मा, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

विसं २०३७ मा काठमाडौँको सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति हुनुभएपछि राजनीतिमा होमिनुभएका मन्त्री उप्रेतीको यस मन्त्रालयमा दोस्रो आगमन हो । विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित उप्रेती गत निर्वाचनमा सर्लाही क्षेत्र नं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७९ सालमा डेढ महिना रक्षामन्त्री रहनुभएको थियो । एमालेको केन्द्रीय स्थानीय तह विभागका सदस्य उप्रेती सो पार्टीको मधेस प्रदेश कमिटीको पूर्वसदस्य रहीसक्नुभएको छ ।


प्रतिक्रिया