`

राष्ट्रियसभाको अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित

Nepal One HD २९ फागुन २०८० १३:४०
प्रमुख खबर

काठमाडौँ ।  राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।  राष्ट्रिसभाको मंगलबारको बैठकमा भएको मतविभाजनमा दाहालका पक्षमा ३९ मत परेको थियो ।

त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो ।

दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भएका थिए भने एक सांसद तटस्थ बसेका थिए । कुल ५९ सदस्यीय हुने  सभामा हाल ५८ सदस्य कायम छन् । 

दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गरेका थिए भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए ।


प्रतिक्रिया