चाइनिज दुबोमा भविष्य देख्दै तुलसीराम, गर्छन् मनग्य आम्दानी


नारायणगढ (चितवन), ८ चैतः वरिपरी गहुँ, मकै र तरकारी लगाएको ढकमक्क परेको बारी । बारीका बीचमा पातलो दुबो देखिने खाली चौर । त्यही चौरमा रहेको पातलो दुबोमा पानी हाली फैलाएर बिक्री गरी आम्दानी गर्ने योजनाका साथ बारीमा खटिरहनुभएको छ चितवनका तुलसीराम अर्याल । उहाँले भन्नुभयो, “चैतको खडेरीमा यसलाई जोगाउनै गाह्रो छ पानी हालिरहन पर्छ ।” दिनको २ बजेको घाममा उहाँसँगै दुबो बारीमा अन्य कामदार पनि काममा तल्लिन देखिन्थ्ये ।
कोही दुबो लगाउने बारी मिलाउँदै थिए भने कोही दुबो रोप्दै र गोड्दै थिए । कसैले माग भएका दुबोका चाक्लालाई जमिनबाट निकाल्दै थिए । सबै आ–आफ्नो काममा व्यस्थ रहँदा व्यवसायी अर्यालले भन्नुभयो “यो समय ग्राहकहरुले दुबो लगाउने र हाम्रो व्यापार हुने समय हो । काममा भ्याइनभ्याइ छ ।” भरतपुर महानगरपालिका–२३ मदिपुरमा अर्यालले विगत चार वर्षयता व्यावसायिक रुपमा चिनियाँ दुबो खेती गर्दै आउनुभएको छ । अहिले उहाँसँग १५ जना मजदुरले काम गर्दै आएका छन् । कोही स्थानीय हुन भने कोही मधेस तथा छिमेकी देसबाटसमेत आएका मजदुर रहेका छन् ।
घरको वरिपरि, होटल, बगैँचा, सडक पेटी, खेल मैदानमा प्रयोग हुने यो दुबो भएकाले वर्षातको समयमा खासै काम नहुने उहाँले बताउनुभयो । अर्यालले दुबो बिघा १० कठ्ठा जग्गा भाडामा लिएर दुबोको खेती गर्नुभएको हो । उहाँले भन्नुभयो “विगतमा तरकारी खेती गर्दै आएको थिए । त्यसको विकल्पको रुपमा दुबो खेती गरेको हुँ ।” उहाँले थप्नुभयो “यो व्यवसाय नयाँ भएकाले कस्तो हुन्छ भनेर गरेको हुँ । अहिले राम्रौ छ ।”
सबैले बुझ्ने भाषामा चाइनिज दुबो भनिय तापनि उहाँले बारीमा अहिले मेक्सिकन, र्बमुडा र जर्मन जातका दुबो लगाउँदै आएको बताउनुभयो । भारत गएर यी दुबोको बारेमा बुझेर आएर यहाँ व्यावसायिक रुपमा खेती गर्न थालेको भन्दै उहाँले भन्नुभयो, “बुटवलमा आफन्तले पनि यही व्यवसाय गर्दै आउनुभएको छ । यस काम गर्ने देन उहाँमा पनि जान्छ । उहाँकै सल्लाहामा दुबो लगाएको हो ।”
दुबो तयार गर्नका लागि झार नभएको मलिलो माटो आवश्यक पर्ने उहाँले बताउनुभयो । यसको लागि आवश्यक पर्नेे बीउ भारतबाट र कतिपय बीउको व्यवस्था आँफै पनि गर्ने गरेको अर्यालको भनाइ छ । संस्था तथा व्यक्तिसँगको सम्पर्कका कारण यसको बजारीकरण हुने भन्दै उहाँले अहिले चितवनसहित पोखरा, स्याङ्जा, धनगढी लगायतका जिल्लामा दुबो पठाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “भरतपुर भ्रमण वर्ष उद्घाटन भएको स्थान नारायणी किनारमा पनि दुबो हामीलै लगाएको हो र अहिले पुल्चोक गोन्द्राङ सडक किनारामा पनि लगाउने कुरा भइरहेको छ ।”
दुई दशमबल पाँच बाइ चार वर्गफिटको एक पिसलाई होलसेल मूल्य रु तीन सय ५० र खुद्रा मूल्य रु चार सयमा बेच्दै आएको उहाँले बताउनुभयो । अहिले यही दुबोको कमाइले दुईवटा छोराछोरी र घर परिवार राम्रोसँग चलेको उहाँले सुनाउनुभयो । व्यवसायीअर्यालले भन्नुभयो “विदेश जाने योजना थियो तर यही केही गरौँ भनेर लागियो ।” बाह्ैमहिना बारीमा खटिनुपर्ने र तयार भएको दुबो कहिलेकाहीँ बिक्री गर्न समस्या हुने भन्दै उहाँले हरेक पेसामा रहेको समस्या समाधान गर्दै अघि बढ्न सके यही केही गर्न सकिने बताउनुभयो । यसै प्रकारको व्यवसाय वा खेती कसैले गर्न चाहन्छ भने बुझेर मात्र गर्न र यसको बजार सीमित रहेको उहाँको भनाइ थियो ।