ओलीकाे बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको दुई-तिहाइ सरकारको शपथ ग्रहण सकिएलगत्तै पहिलो निर्णय कार्यान्वयनअन्तर्गत पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन सुनुवाइका लागि न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ।
ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको मागसहित आइतबार दायर गरिएको रिटमा सोमबार सुनुवाइ हुने भएको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ परेका ओलीका पक्षबाट राधिका शाक्यले निवेदन दर्ता गराएकी हुन्।
उक्त आन्दोलनका क्रममा भएको दमनको घटनामा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले शनिबार ओलीलाई पक्राउ गरेको हो।
जिल्ला अदालत काठमाडौंले ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। स्वास्थ्य अवस्था कमजोर भएका कारण ओली हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् भने लेखकलाई महाराजगञ्जस्थित प्रहरीको नम्बर २ गणमा राखिएको छ।
