चिसापानीमा नेपाली सेनाको स्वास्थ्य शिविर, पाँच सय १२ जना लाभान्वित


धनुषा – धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ चिसापानीमा नेपाली सेनाको श्री नं. १ राजदल गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय १२ जना लाभान्वित भएका छन् ।
उक्त स्वास्थ्य शिविरमा नेपाली सेनाका चिकित्सकसहितको टोलीले रक्तचाप, मधुमेह, आँखा, नाक, कान, घाँटी, दाँतलगायत रोग सम्बन्धि सेवा प्रदान गरिएको थियो । सो स्वास्थ्य शिविरमा चिसापानी तथा त्यस आसपासका गाँउबाट आएका नागरिक लाभान्वित भएको महासेनानी प्रतिक कार्कीले जानकारी दिनुभयो ।
नेपाली सेनाको श्री नं. १ राजदल गणले गणेशमान चारनाथ नगरपालिका, धनुषा र मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरको औषधि तथा स्वास्थ्य सामग्री सहयोगमा संचालित उक्त स्वास्थ्य शिविरमा प्राविधिक जनशक्ति नेपाली सेनाको फिल्ड अस्पताल बर्दिबाससहित ४० जनाको टोली खटिएको थियो ।
स्वास्थ्य शिविर सञ्चालन भएको गाउँ धनुषाको विकट क्षेत्र मानिन्छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा भएकाले सेनाले पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गरेको महासेनानी कार्कीले बताउनुभयो ।