`

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

Nepal One HD २८ चैत २०८० १६:४४
राजनीति

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनी नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरेका छन् ।

विसं.२०७४ को प्रदेशसभा निर्वाचनमा एमाले प्रदेशसभाको पहिलो पार्टी भए पनि उनी मुख्यमन्त्री बन्न पाएका थिएनन् । माओवादी केन्द्रसँग भएको पार्टी एकताका कारण उनले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि समर्थन गरेका थिए ।

यसपटकको निर्वाचनमा एमाले तेस्रो ठूलो दलमा सीमित भयो र माओवादी ठूलो पार्टी बन्यो । विसं.२०७९ मा पनि केन्द्रमा नेकपा (एमाले) र माओवादी केन्द्रबीचको राष्ट्रिय समीकरण हुँदा कर्णाली प्रदेशमा पाँच वर्ष नै माओवादी केन्द्रलाई नै दिने निर्णय भएपछि कँडेल मुख्यमन्त्री हुन पाएनन् । उक्त निर्णयमा उनले असन्तुष्टि जनाए । फलस्वरुप माओवादी केन्द्र र एमालेबीच पाँच वर्षे कार्यकाल आधा–आधा बाँड्न सहमति भयो ।

सोही सहमतिका आधारमा माओवादी केन्द्रबाट राजकुमार शर्मा मुख्यमन्त्री बने । तर उनी मुख्यमन्त्री भएको ७५ दिनपछि एमालेसँगको समीकरण टुट्यो ।

माओवादी केन्द्रसँग साढे दुई वर्षपछि मुख्यमन्त्री बन्ने सहमति गरेका कँडेललाई केन्द्रमा छिटो छिटो सत्ता समीकरण परिवर्तन हुँदा एक वर्षमै मुख्यमन्त्री बन्ने अवसर प्राप्त भएको हो ।

विसं.२०१८ कात्तिक २५ गते भाइटिकाको दिन दैलेखको गाईबान्ना (हालको गुराँस गाउँपालिका दैलेखको मध्यमवर्गीय परिवारमा जन्मिएका कँडेल हाल वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत भैरवस्थान निवासी हुन् । बुबा मनिराम र स्वर्गीय आमा भागिरथी कँडेलका माईलो छोरा हुन् । उनका एक पत्नी र तीन छोरीहरु छन् ।


प्रतिक्रिया