इरानद्वारा इजरायलमा ड्रोन आक्रमण, संयम अपनाउन राष्ट्रसंघको आह्वान


बीबीसी । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा हमला गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा ती धेरैजसोलाई निस्तेज पारिएको छ ।
मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् । इरानको रिभोल्युशनरी गार्डस्ले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरायली अपराधको जवाफ बताएको छ ।
जसमा उसले अप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न ’वार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
यसअघि इजरायल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा झेल्नुपर्ने चेतावनी दिएको थियो । इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरायली जवाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ । इजरायली सेनाले दक्षिणी इजरेलको एक सैन्य शिविरमा सामान्य क्षति भएको जनाएको छ ।
एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक जना दश वर्षीया बालिका घाइते भएको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडन सप्ताहन्तको बिदा छोट्याउँदै आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार र मन्त्रीहरूलाई भेट्न ह्वाइट हाउस फर्केका छन् ।
ह्वाइटहाउसको ‘सिचुएसन रुम’मा भएको बैठकको तस्बिरसहित उनले इरान र उसका ‘प्रोक्सीहरू’बाट हुने जोखिमसँग जुझ्नका लाग इजरायलप्रतिको वासिङ्टनको प्रतिबद्धता फलामे कवच जस्तो रहेको बताएका छन् ।
इजिप्टले आफ्नो हवाई प्रतिरक्षालाई अधिकतम सजग अवस्थामा राखेको जनाएको छ । ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई लापरबाही भन्दै निन्दा गरेका छन् ।
उनले इरानलाई आफै पछाडि भद्रगोल सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरसले आफू क्षेत्रीय रूपमा चर्कने अवस्थाको निकै वास्तविक खतरालाई लिएर गहिरो चिन्तामा परेको बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गरेका छन् ।