`

काठमाडौंमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा

Nepal One HD १ जेठ २०८१ १०:२१
प्रमुख खबर

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी मंगलबारदेखि सञ्चालनमा आएको छ । वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले उद्घटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका छन् । बिसौनी उद्घाटन गर्दै अध्यक्ष केसीले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने सामूहिक दायित्व भएको बताए ।

उनले भने,‘हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएका छौँ । राजनीतिक दलहरुसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा नपरुन् ।’

फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि स्थानीयबासीले निगरानी गर्नेछन् । वडा सचिव सुवोध खड्काका अनुसार यस क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको विसौनी आजबाट सञ्चालन भएको हो ।

बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको विसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ । यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ हो । यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिएका छन् । विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।


प्रतिक्रिया