`

पोर्नस्टारलाई पैसा दिन लगाएको ट्रम्पका पूर्ववकिलको बयान

Nepal One HD १ जेठ २०८१ १२:४३
विश्व

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको भनिएको आफ्नो सम्बन्ध बाहिरिने चिन्ता ट्रम्पले व्यक्त गरेको बताएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध परेको मुद्दाको सुनुवाइका क्रममा उनका पूर्ववकिल माइकल कोएनले उक्त सम्बन्धको विषय बाहिरिए सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प आफूलाई अप्ठ्यारो पर्न सक्ने विषयमा चिन्तित भएको बताए ।

पोर्नस्टार स्टोर्मी ड्यान्यल्स र आफ्नो सम्बन्धको विषय सार्वजनिक भए महिलाहरूले आफूलाई मन नपराउने डरमा ट्रम्प भएको र त्यो विषय चुनावसम्मका लागि दबाउन आफूलाई ट्रम्पले निर्देशन दिएको कोएनको दाबी छ ।

पूर्वपोर्नस्टार ड्यान्यल्सलाई मुख नखोल्न पैसा दिएको अभियोगमा ट्रम्पमाथि चलिरहेको मुद्दामा उनकै पूर्ववकिल माइकल कोएनलाई साक्षी बनाइएको छ । यस्तो भुक्तानीमा संलग्न भएको आरोपमा कोएनले पनि मुद्दा खेपेका छन्।

तर उनी पछिल्लो समय ट्रम्पका कटु आलोचक बनेका छन् । ट्रम्पले पोर्नस्टारसँग शारीरिक सम्बन्ध रहेको र उनलाई मौन बस्नका लागि पैसा दिन झुटो व्यापारिक विवरण तयार पारेको भन्ने दुवै आरोप अस्वीकार गर्दै आएका छन्। ट्रम्पविरुद्ध यस विषयमा ३४ वटा मुद्दा परेको छ ।

म्यान्हटन अदालतमा जारी सुनुवाइका क्रममा कोएनले पूर्वपोर्नस्टार ड्यान्यल्सलाई आफूले ट्रम्पका तर्फबाट १ लाख ३० हजार अमेरिकी डलर दिएको बयान दिएका छन् ।

उनले ट्रम्पको निर्देशनमा “उनको फाइदाको लागि“ धेरै पटक त्यस्तो भुक्तानी दिएको बताएका छन् । ड्यान्यल्सले आफूले पैसा पाएपछि विवाहित पुरुष ट्रम्पसँग आफ्नो अन्तरङ्ग सम्बन्ध रहेको विषयमा आफू मौन बसेको दाबी गर्दै आएकी छन् ।


प्रतिक्रिया