साउदी कोषद्वारा अन्तरिक्ष उद्योगलाई बढावा दिन नयाँ समूह सुरु


साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पिआइएफ) ले राज्यको नवोदित उपग्रह र अन्तरिक्ष उद्योगमा काम गर्न नियो स्पेस समूहको सुरुवात गरेको छ । यो क्षेत्रमा मुलुकको पहिलो लगानी हो ।
विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोषमध्ये एक पिआइएफले पहिले नै खेलकुद, गेमिङ तथा कथित साउदी गिगा–परियोजनामा ठूलो लगानी गरेको छ । यसमा मरुभूमिमा निर्माणाधीन पाँच खर्ब डलरको भविष्यको मेगासिटी निओम पनि समावेश छ ।
नियो स्पेस ग्रुप वा एनएसजी अन्तरिक्ष उद्योगमा केन्द्रित पीआइएफको पहिलो लगानी हो, सार्वभौम सम्पत्ति कोषले एक विज्ञप्तिमा भनेको छ ।
“यसको उद्देश्य साउदी अरबमा व्यावसायिक अन्तरिक्ष अपरेशनहरू विकास र विस्तार गर्ने लक्ष्य राखेको र स्थानीय र विश्वव्यापी रूपमा नवीन उपग्रह र अन्तरिक्ष समाधानहरू प्रदान गर्ने रहेको”, पिआइएफले भनेको छ ।
यसले साउदी अरेबियामा अन्तरिक्ष र उपग्रह क्षेत्रमा स्थानीयकरण, प्रविधि, स्टार्ट–अप र ज्ञानमा लगानी गर्नेछ ।
क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरेबियाले आफ्नो तेल–निर्भर अर्थतन्त्रलाई खुला र विविधीकरण गर्न खोजेको छ ।
विश्वस्तरीय फुटबलरहरूदेखि नयाँ राष्ट्रिय एयरलाइन्स र ऊँटको दूध जिलाटो पस्किने विशेष पसलसम्म पिआइएफले विविधीकरणलाई समर्थन गर्ने उद्देश्यले अधिग्रहणहरूमा अर्बौं खर्च गरेको छ ।
कोषले उबर, विद्युतीय कार निर्माता कम्पनी लुसिड र भिडियो गेम कम्पनी एक्टिभिजन ब्लिजार्डलगायत विदेशी कम्पनीहरूमा उच्च प्रोफाइल लगानी गरेको छ । यद्यपि यसको पोर्टफोलियोको ठूलो हिस्सा स्वदेशी लगानी हो ।
पिआइएफका एमइएनए प्रत्यक्ष लगानीका सह–प्रमुख उमर अल–मधीले भने, “एनएसजीको स्थापना साउदी अरेबियामा बढ्दो उपग्रह र अन्तरिक्ष क्षेत्रको विकासमा महत्त्वपूर्ण कोसेढुङ्गा हो ।”
साउदी अरबले गत वर्ष आफ्नो पहिलो दुई अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको थियो । यसमा राज्यको पहिलो महिला अन्तरिक्ष यात्री रायनाह बर्नावी पनि सहभागी थिए ।