`

रफाहमा लडाइँ जारी राख्ने नेतन्याहूको उद्घोष

Nepal One HD १५ जेठ २०८१ १२:१५
विश्व

बीबीसी । आइतबार रफाहमा कैयौँ प्यालेस्टिनीहरूको मृत्यु हुने गरी इजरायलले गरेको हवाई हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेपनि इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासविरुद्ध लडाइँ जारी राख्ने बताएका छन् ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त घटनामा कम्तीमा ४५ जनाको ज्यान गएको थियो भने सयौँ मानिस गम्भीर घाइते भएका छन्। शरीर जलेर, हड्डी भाँचिएर र छर्राका कारण चोटपटक लागेका मानिसहरूको उपचार भइरहेको हमासले जनाएको छ ।

इजरायली संसद्मा बोल्दै नेतन्याहूले त्यसलाई ‘दुःखद दुर्घटना’ भएको बताए । यद्यपि सबै उद्देश्य हासिल नहुँदासम्म आफूले युद्ध अन्त्य गर्ने विषयमा नसोचेको उनले बताए ।

रफाहमा भएको आक्रमणबारे छलफल गर्न मङ्गलबार संयुक्त राष्ट्रसङ्घको आकस्मिक बैठक बस्न लागेको छ । एल्जिरिआको आग्रहमा उक्त बैठक बस्न लागेको हो ।

राष्ट्रसङ्घका महासचिवले विज्ञप्ति जारी गरी उक्त आक्रमणका कारण ‘यो द्वन्द्वबाट जोगिन आश्रय लिन खोजेका कैयौँ निर्दोष नागरिकहरूको मृत्यु भएको’ टिप्पणी गरेका थिए ।

इजरायली प्रधानमन्त्रीले सर्वसाधारण मानिसको सुरक्षाका लागि यथासम्भव सावधानी अपनाएको र इजयाल डिफेन्स फोर्सेस आईडीएफले द्वन्द्वमा संलग्न नभएका मानिसलाई हानि नपुर्याउने प्रयास गरिरहेको जनाए।


प्रतिक्रिया