`

पोखराको प्राइम सहकारी ठगीका फरार तीन प्रतिवादी पक्राउ

Nepal One HD ७ असार २०८१ १४:०२
अपराध

गण्डकी । पोखराको प्राइम सहकारी संस्थाको ठगी मुद्दामा फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले सहकारी ठगीमा संलग्न भर्ई फरार रहेका पर्वतको मोदी गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका १८ बस्ने ५५ वर्षकी धनकुमारी गुरुङ, पर्वतकै ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा महानगरपालिका ३ तेर्सापट्टीकी जीवन सार्कीलाई पक्राउ गरेको हो ।

सहकारी ठगी गरेको कसुरमा उनीहरूको पनि संलग्नता रहेको भन्दै प्रहरीले यसअघि नै प्रतिवादी बनाएर मुद्दा बुझाइसकेको थियो ।

अन्य पक्राउ परेका प्रतिवादीहरूको थुनछेक आदेश भइसकेको छ । तर उनीहरू फरार रहेकाले पुर्पक्ष हुन नसकेको कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । प्रहरीले उनीहरुलाई शुक्रबार अदालतमा बुझाएको छ ।

यसअघि जिल्ला अदालत कास्कीले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । बिहीबार जिल्ला अदालत कास्कीले सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापा केसी, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा र उत्तम मगरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश थियो ।

अदालतको आदेशपछि उनीहरु कास्की कारागारमा छन् । गत जेठ २७ गते प्राइम सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको थियो ।

विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनाविरुद्ध मुद्धा दायर गरेको थियो । प्राइम ठगी प्रकरणमा सहकारी विभागका कर्मचारीदेखि लेखापरीक्षकसम्मले बचत रकम हिनामिना गरेको पाइएको छ ।

२०६६ सालमा दर्ता भएर सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की पोखराबाट २०७२ असारबाट बहुउद्देश्यीयमा रुपान्तरित भएको यो सहकारीको कार्यक्षेत्र सुरुमा पोखराका वडा नम्बर ३, ४, ५, ८ र ९ भर रहेकोमा अहिले कास्की, तनहुँ र गोरखा जिल्ला कार्यक्षेत्र कायम छ ।


प्रतिक्रिया