`

आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी

Nepal One HD १६ असार २०८१ १९:३६
विश्व

बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेनले आइतबार आगामी आम निर्वाचनमा मुलुकको लोकतान्त्रिक प्रक्रियालाई प्रभावित पार्न प्रयास गर्ने रुसजस्ता शत्रुतापूर्ण तत्वबाट खतरा रहेको बताउनुभएको छ । बेलायतमा बिहीबार मतदान हुँदैछ । निर्वाचनले सत्ताधारी दक्षिणपन्थी कन्जरभेटिभलाई हटाउने र विपक्षी लेबर पार्टीलाई सत्तामा ल्याउने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसनले क्रेमलिन समर्थक वार्ताका विन्दुहरू फैलाउने पाँच फेसबुक पेज पत्ता लगाएको खुलासा गरेपछि उहाँको यस्तो टिप्पणी आएको हो । तीमध्ये केहीले सत्तारू कन्जरभेटिभका लागि ठूलो चुनौतीका रूपमा रहेको ब्रेक्सिटियर (बेलायतलाई युरोपेली सङ्घबाट निकाल्ने पक्षधर) निगेल फराज नेतृत्वको कट्टर दक्षिणपन्थी रिफर्म युके पार्टीका लागि समर्थन गर्न प्रोत्साहित गरेका छन् । “सबै निर्वाचनमा खतरा छ, र वास्तवमा यो निर्वाचनमा शत्रुतापूर्ण राज्य अभिनेताहरूबाट निर्वाचन अभियानको नतिजालाई प्रभावित गर्ने प्रयास गरिरहेको देख्छौँ”, उपप्रधानमन्त्री डाउडेनले भन्नुभयो, “रुस यसको प्रमुख दृष्टान्त हो, र यो रुसी प्लेबुकबाट एउटा उत्कृष्ट उदाहरण हो ।”

यद्यपि उहाँले ‘उदाहरण अपेक्षाकृत विशिष्ट, निम्नस्तरीय सामग्री’ रहेको उहाँले बताउनुभयो । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशंसक फराजले बकवास शब्दका लागि बेलायती ‘स्ल्याङ’ शब्दको प्रयोग गर्दै रुसी बटहरूले निर्वाचनमा हस्तक्षेप गर्न सक्छन् भन्ने दाबीलाई अस्वीकार गर्नुभयो । युक्रेनमा रुसको आक्रमणलाई पश्चिमले उक्साएको भन्दै निर्वाचन अभियानमा उहाँको आलोचना भएको थियो । उहाँको अध्यागमनविरोधी पार्टीलाई प्रधानमन्त्री ऋषि सुनकको टोरीजबाट मत खोसेर केन्द्रको विपक्षी लेबर पार्टीको भारी जीतमा योगदान पुर्याउने सर्वेक्षणकर्ताहरूको भनाइ छ ।

निर्वाचन अभियानका क्रममा लेबर पार्टीलाई २० भन्दा धेरै अङ्कको चुनावी अग्रता प्राप्त भएको छ तर प्रधानमन्त्री सुनकले आइतबार जोड दिँदै उहाँ शुक्रबार बिहान पनि प्रधानमन्त्री हुने बताउनुभएको छ । बिबिसीसँग उहाँले भन्नुभयो, “मैले धेरै कठिन सङ्घर्ष गरिरहेको छु र मलाई लाग्छ कि जनता लेबर सरकारको वास्तविक खतराप्रति जागरुक भइरहेका छन् ।” प्रभावशाली दक्षिणपन्थी अखबार सन्डे टाइम्सले आफ्नो पार्टीलाई समर्थन गरेपछि केइर स्टार्मरको नेतृत्वमा रहेको लेबरलाई थप अर्को अग्रता प्राप्त भएको छ । बेलायती गायक एन्टन जोनले पनि लेबर पार्टीलाई समर्थन गरेको घोषणा गर्नुभएको छ ।


प्रतिक्रिया