`

नारायणी नदी किनारमा दुई वटा शव फेला, सिमलतालमा बेपत्ता बसका यात्रु हुनसक्ने

Nepal One HD २९ असार २०८१ १८:२२
समाचार

नवलपुर । नारायणी नदी किनारमा शनिबार दिउँसो दुईवटा शव फेला परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलकानुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन् ।

नदीले बगाएर ल्याएका अन्दाजी २५–३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटेको पाँचजनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए ।

पहिलो शवभन्दा करिब १० फिटको दूरीमा करिब १८–२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र दुवै शवको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

शव चितवनको भरतपुर–२७ सिमलतालमा पहिराका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।


प्रतिक्रिया