ट्रम्प गोली काण्डपछि सीक्रेट सर्भिसकी प्रमुखले दिइन् राजीनामा


बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यले भएको आक्यारमणमा सुरक्षा प्रणाली विफल भएको आरोप लागेपछि अमेरिकी विशेष सुरक्षा निकाय सीक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चीटलले राजीनामा दिएकी छन् । उनले मङ्गलबार राति राजीनामा दिएकी हुन् ।
घटनाका बारेमा सोमबार संसदीय समितिमा लामो सुनुवाइपछि डेमोक्रेट र रिपब्लिकन पार्टीका सांसदले उनको राजीनामा माग गरेका थिए ।
पेन्सिल्भेनिआको बट्लरमा आयोजित चुनावी र्यालीमा सहभागी ट्रम्पमाथि जुलाई १३ मा भएको गोली प्रहारको घटनाबारे प्रश्नहरूको उत्तर दिन अस्वीकार गरेपछि सांसदहरू उनीसँग निराश भएका थिए ।
सीक्रेट सर्भिसकी निर्देशक चीटलले आफूले ‘भारी मन बनाएर’ राजीनामा दिएको उल्लेख गरेकी छन्। राजीनामामा आफूले ‘निकायको आवश्यकतालाई सधैँ पहिलो प्राथमिकता दिएको’ चीटलले उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘अघिल्लो साताको सुरक्षा व्यवस्था निकै कडा थियो र हाम्रो सञ्चालन गति बढाउन सक्ने हो भने त्यो जारी रहन्छ । मेरो राजीनामा माग भएका कारण महत्त्वपूर्ण लक्ष्यका साथ तपाईँहरू प्रत्येकले गरिरहेको राम्रो कामबाट ध्यान अन्यत्र नमोडिओस् भन्ने म चाहन्छु।’
राष्ट्रपति जो बाइडनले एक विज्ञप्तिमार्फत् उनको एक दशक लामो सार्वजनिक सेवाका लागि आभार व्यक्त गरेका छन् । राष्ट्रपति बाइडनले सीक्रेट सर्भिसको नयाँ निर्देशक छिट्टै नियुक्त गर्ने बताएका छन् । तत्कालका लागि गृहमन्त्री आलेहान्द्रो मायोर्कासले रोनल्ड रो कार्यवाहक निर्देशक नियुक्त गरेका छन्।