`

भारतीय प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमण सकी स्वदेश फिर्ता

Nepal One HD ८ भदौ २०८१ १९:०४
विश्व

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्याण्ड र युक्रेनको दुई देशको भ्रमणपछि स्वदेश फिर्ता हुनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोल्याण्ड भ्रमण ४५ वर्षपछि भएको हो ।

उहाँले दुई दिने युरोप भ्रमणका क्रममा युक्रेनको पनि भ्रमण गर्नुभएको छ । युक्रेन भ्रमण गर्ने उहाँ पहिलो पदबहाल भारतीय प्रधानमन्त्री हुनुहुन्छ ।

युक्रेन भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको बडापत्रलगायत क्षेत्रीय अखण्डता र राष्ट्रको सार्वभौमिकताजस्ता अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरू लागु गर्न आफू तयार रहेको बताउनुभएको थियो ।

यस सम्बन्धमा घनिष्ठ द्विपक्षीय वार्ताको वाञ्छनीयतामा उहाँहरू सहमत हुनुभएको छ । भारतीय पक्षले आफ्नो सैद्धान्तिक अडान दोहो¥याउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्तिपूर्ण समाधानमा ध्यान केन्द्रित गरेको छ । भारतले युक्रेनमा शान्तिका लागि जून २०२४ मा स्विट्जरल्याण्डको बर्गेनस्टकमा आयोजित शिखर सम्मेलनमा भाग लिएको थियो ।

युक्रेनी पक्षले भारतको यस्तो सहभागिताको स्वागत गर्दै आगामी शान्ति शिखर सम्मेलनमा भारतको उच्चस्तरीय सहभागिताको महत्वमाथि प्रकाश पारेको छ । भ्रमणका क्रममा भारत र युक्रेनले चार वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पोल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले आफ्ना समकक्षी डोनाल्ड टस्कसँग द्विपक्षीय छलफल गर्नुभएको र दुई देशले आफ्नो सम्बन्धलाई ‘रणनीतिक साझेदारी’मा रुपान्तरण गर्ने निर्णय गरेका छन् । दुवै नेताले युक्रेनमा जारी युद्ध र यसको भयानक र दुःखद मानवीय परिणामप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानसहित संयुक्त राष्ट्रसङ्घको बडापत्रका उद्देश्य र सिद्धान्तअनुरूप अन्तर्राष्ट्रिय कानूनबमोजिम व्यापक, न्यायोचित र दिगो शान्तिको आवश्यकतालाई दोहो¥याएका छन् ।


प्रतिक्रिया