`

युक्रेनलाई लामो दूरीका अस्त्र प्रयोग गर्ने अनुमति दिन सकिने बाइडनको सङ्केत

Nepal One HD २६ भदौ २०८१ १८:२१
विश्व

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीसम्म प्रहार गर्न सकिने अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न दिने गरी प्रतिबन्ध फुकुवा गर्ने सङ्केत गरेका छन् ।

युक्रेनले अमेरिकाबाट आयात गरिएका त्यस्ता क्षेप्यास्त्रको प्रयोगमा तोकिएको सीमा खुकुलो पारिदिन वाशिङ्टनलाई बारम्बार आग्रह गर्दै आएको थियो । अमेरिकाले लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिएकाले रुसले गरेको आक्रमणको प्रतिकार गर्दा आफ्नो ‘हात बाँधिएको’ युक्रेनी अधिकारीहरूले बताउँदै आएका थिए ।

रुसले बाइडनको टिप्पणीबारे कुनै प्रतिक्रिया दिइसकेको छैन। यद्यपि राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले नै त्यस्तो कार्यले “व्यापक र गम्भीर परिणाम“ निम्त्याउन सक्ने चेतावनी दिइसकेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले इरानले रुसलाई छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्रहरू उपलब्ध गराएको आरोप लगाएपछि बाइडनको त्यस्तो भनाइ आएको हो ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण रूपको आक्रमण सुरु गरेदेखि नै अमेरिकाले द्वन्द्व बढ्न सक्ने ठानेर रुसको भित्री क्षेत्रमा पनि प्रहार सकिने अस्त्रहरू युक्रेनलाई आपूर्ति गर्न वा प्रयोग गर्न अनुमति दिन हिचकिचाइरहेको छ। यद्यपि अमेरिकाले त्यस्ता क्षेप्यास्त्र प्रयोगमा लगाइएको प्रतिबन्धलाई केही खुकुलो पारिदिएको छ ।

युक्रेनतर्फ आक्रमण भइरहेका रुसी सीमाक्षेत्रमा युक्रेनले लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न पाइरहेको छ । यसैबीच बेलायत भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले इरानीहरूले छोटो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न रुसीहरूलाई तालिम दिएको र केही साताहरूमै त्यस्ता क्षेप्यास्त्र युक्रेनविरुद्ध प्रयोग हुन सक्ने बताएका छन्।


प्रतिक्रिया