`

नेपालको अर्थतन्त्र सुधारको बाटोमा: आइएमएफ उपनिर्देशक दत्त

Nepal One HD ६ असोज २०८१ १२:१५
अर्थ समाचार

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा आइतबार भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन् ।

उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुन परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझाव कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए ।


प्रतिक्रिया