लय गुमाएको नेपाल आज ओमानसँग खेल्दै


काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमान भिड्दैछन् । किङ सिटीस्थित माफ्ले लिफ नर्थ वेस्ट मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।
लिगमा लय गुमाएको नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । जारी लिगमा नेपालले सात खेल खेल्दा मात्र एक जित निकाल्न सकेको छ । क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा पनि खराब प्रदर्शन गरेको नेपालले तीन खेलमा पराजय भोगेको छ ।
पहिलो खेलमा घरेलु टोली क्यानडासँग १ सय ३ रनको हार बेहोरेको नेपाल दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पनि नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।
त्यसैले नेपाल आज सुखद अन्त्यको खोजीमा हुनेछ ।
नेपाललाई आजको खेलमा बदला लिने अवसर पनि रहेको छ । हाल नेपाल सात खेलबाट एक जितसहित दुई अङ्क जोड्दै लिगको सातौं स्थानमा रहेको छ । गत फेब्रुअरीमा घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएपछि नेपाल लिगमा जितविहीन रहेको छ ।
यता ओमानले पनि सिरिजमा सोचे अनुरुप प्रदर्शन गर्न सकेको छैन । पहिलो खेलमा नेपाललाई हराउँदै सिरिजको सुरुवात गरेको ओमानले दोस्रो खेलमा क्यानाडासँग ५८ रनको हार बेहोरेको थियो । ओमान ६ खेलबाट पाँच अङ्क जोड्दै लिगको छैठौं स्थानमा रहेको छ।
विश्वकप लिग–२ को सिरिजपछि तीन टोलीले क्यानडामै त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने तालिका रहेको छ ।