`

वडा नम्बर १६ लाई प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि

Nepal One HD १० असोज २०८१ १३:०७
खेलकुद

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नम्बर १६ विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर १६ ले वडा नम्बर १२ लाई ५–२ गोल अन्तरले जितेको हो ।

१६ का लागि आयुष कुँवर, रविन निरौला, साजन डङ्गोल र श्रेयान्स मानन्धरले गोल गर्नुभएको थियो । वडा १२ को एउटा आत्मघाती गोल उपहार पाएर वडा नम्बर १६ को ५ गोल भएको हो । वडा नं. १२ का लागि मनोज महर्जन र सिद्धार्थ देउलाले गोल गरेका थिए ।

उपाधिसँगै विजेता टोली वडा नम्बर १६ ले २ लाख रुपियाँ प्राप्त गरेको छ । उपविजेता वडा नम्बर १२ ले १ लाख रुपियाँ पुरस्कार पायो । वडा नं. १६ का आयुष कुँवर सर्वाेकृष्ट खेलाडी र मनोज महर्जन सर्वाधिक गोलकर्ता बने ।

यस्तै वडा नं. १६ का सुशान्त महत उत्कृष्ट गोलकिपर बने । उत्कृष्ट सबैलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।

असोज १ गतेबाट सञ्चालित प्रतियोगिताको समापन खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न महानगरपालिकाका प्रमुख बालेन साह खेल मैदानमा गएका थिए । खेल समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ र वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले पुरस्कार प्रदान गरेका थिए ।


प्रयागराजसिंह सुवाल २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि सम्पन्न निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । सुवाल एनआरटी क्लवको संस्थापकसमेत हुन् । २०८० सालबाट प्रतियोगिता सुरु भएको हो । यसपटकको खेलमा वडा नं. ७ र २४ बाहेक अरु सबै वडा र महानगरपालिका केन्द्रबाट एउटा टीमले भाग लिएको थियो ।


प्रतिक्रिया