`

अन्तर पालिकास्तरीय महिला फुटबलमा कन्काई विजयी

Nepal One HD २ फागुन २०८१ २२:२९
खेलकुद

झापा । झापाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका विजयी बनेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४–३ गोलले पराजित गर्दै कन्काई विजयी बनेसँगै फाइनल पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २–२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो ।

कन्काइका लागि एलेक्स चौधरी, वर्षा मगर, सुशीला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको प्रहार गोलमा परिणत हुँदा वर्षा ओली, करूणा बुढाथोकी र बबिता कार्कीको प्रहार खेर गएको थियो ।

खेलको प्लेयर अफ दी म्याच कन्काइकी सुशीला चौधरी घोषित हुँदै नगद रु  पाँच हजार पाउन सफल भइन् । शनिबार अन्तिम सेमिफाइनल खेल अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद तीन लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद  एक लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।


प्रतिक्रिया