`

राप्रपा नेतृले भनिन्- राजसंस्था नफर्केसम्म सडकमै खान्छौं, सडकमै सुत्छौं

Nepal One HD २६ चैत २०८१ १३:५७
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कुन्ती पोखरेले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने बताएकी छिन् ।

आगामी वैशाख ७ गतेबाट पार्टीले गर्ने आन्दोलनका क्रममा आफूहरू राजसंस्था नफर्किएसम्म सडकमै बस्ने, खाने र सुत्ने बताइन् ।

‘यो आज सुरुवात हो । अब ७ गतेदेखि हामी यहीँ ठाउँमा बस्छौं । यहीँ सुत्छौं,’ उनले भनिन्, ‘खाना पनि यहीँ पकाउँछौं । जबसम्म यो देशमा हाम्रो अभिभावकीय संस्था राजसंस्था नभएसम्म यहीँ बस्छौं ।’ उनले गणतन्त्रवादी नेताहरूलाई आजै देश छाडेर भाग्न समेत आग्रह गरिन् ।

एउटा कुरा भन्न चाहन्छु । गणतन्त्र भनिने लुटतन्त्रेहरुले के गरे हाम्रो देशमा थाहा छ ? भएका सबै कलकारखाना बन्द गरे । हाम्रा युवाले दुई छाक खाने ठाउँ बन्द गरेर एउटा कारखाना चलाएका छन् । त्यो के कारखाना हो थाहा छ ? भ्रष्टाचारी जन्माउने कारखाना ।

ए लुटतन्त्रेहरु, आजै तिमीहरु भागिहाल, कि घरबाटै थुतेर हाम्रा राष्ट्रवादी साथीहरुले कुट्नेछन् । कि देश छोडेर भाग कि राष्ट्रवादी साथिहरुको अगाडि आत्मसमर्पण गर । नत्र खैरियत छैन ।

उनले आगामी ७ गतेबाट सडक तताउन बल्खुमा उपस्थित भिडलाई आग्रह गरिन् । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रसहितका विभिन्न माग राखेर मंगलबार बल्खुमा प्रदर्शन गरेको छ ।


प्रतिक्रिया