`

भारतीय कृषिमन्त्री नेपालमा, कृषिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

Nepal One HD २८ चैत २०८१ ७:३८
राजनीति

काठमाडौँ-भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल भ्रमणमा आउनुभएको छ ।काठमाडौँमा आयोजित बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम)मा सहभागिता जनाउन उहाँ यही मङ्गलबार यहाँ आउनुभएको हो ।

भ्रमणका क्रममा भारतीय मन्त्री चौहानले आफ्ना समकक्षी नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग द्विपक्षीय बैठक गर्नुभयो । उहाँले तेस्रो बिएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकामा आफ्ना समकक्षीलाई बधाई दिनुभएको थियो । दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्दै थप सहकार्यका लागि हुन सक्ने अवसरहरूबारे छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा दुवै मन्त्रीहरूले आज हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौताले दुई देशबीच कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, बिरुवा संरक्षण र बजार पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जैविक खेती, जैविक मल र जैविक विषादी, पोष्टहार्भेष्टको व्यवस्थापन, जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यस सम्झौताले २०४८ साल मङ्सिर २० गते कृषि सहयोगका लागि दुई देशबीच हस्ताक्षर गरिएको समझदारीपत्रलाई प्रतिस्थापन गरेको छ ।

यसैगरी, भारतीय मन्त्रीले   प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले भारतको नेतृत्वका तर्फबाट अभिवादन व्यक्त गर्दै भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो । 

त्यस अवसरमा उहाँहरूबीच कृषिका विभिन्न क्षेत्रहरूमा नेपाल—भारत सहयोगलाई थप सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको जनाइएको छ ।

क्षेत्रीय कृषि सहयोगलाई आकार दिन सर्वोच्च निर्णय लिने निकायका रूपमा रहेको बिएएमएमको यो तेस्रो बैठक हो । बिएएमएमको पहिलो बैठक २०७६ साल असार २७ गते म्यान्मारमा भएको थियो र त्यसपछिको दोस्रो बैठक २०७९ साल कात्तिक २४ गते भारतमा भएको थियो । तेस्रो बिएएमएम बैठक काठमाडौँमा भएको हो । बैठकमा मत्स्यपालन र पशुपन्छी सहयोगसहित बिम्स्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने तरिका र माध्यमहरूबारे छलफल भएको छ ।

विगत एक दशकमा बङ्गालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, सम्पर्क सञ्जाल र आर्थिक समुन्नतिलाई प्रवर्द्धन गर्न बिम्स्टेक एक महत्वपूर्ण मञ्चका रूपमा उदय भएको छ । ‘कृषि र खाद्य सुरक्षा’ बिम्स्टेक सहयोगका मुख्य क्षेत्र मध्यको एक हो ।


प्रतिक्रिया