यमदीप दान र नरके स्नानको परम्परा बोकेको नरक चतुर्दशी, कर्मको परिणाम सम्झाउने पर्व
काठमाडौं । तिहारअन्तर्गत यमपञ्चकको एक महत्वपूर्ण दिन नरक चतुर्दशी धार्मिक, आध्यात्मिक र दार्शनिक दृष्टिले विशेष महत्व बोकेको पर्वका रूपमा मनाइन्छ । यस दिन स्नान, तर्पण तथा यमदीप दान गर्ने धार्मिक परम्परा रहेको छ ।
सनातन हिन्दु दर्शनमा मानिसले गरेको कर्मअनुसार मृत्युपछि स्वर्ग वा नर्क प्राप्त हुने विश्वास रहिआएको छ । सत्कर्म गर्ने मानिस स्वर्ग जाने र नराम्रो कर्म गर्नेले नर्कको दुःख भोग्नुपर्ने धार्मिक मान्यता छ । यही मान्यतालाई स्मरण गराउने दिनका रूपमा नरक चतुर्दशीलाई लिने गरिएको छ ।
धार्मिक विश्वासअनुसार वैतरणी नदी पार गरेपछि मात्र स्वर्ग पुग्न सकिन्छ । स्वर्ग र नर्कलाई एकअर्कासँग जोडेर हेर्ने सनातन दर्शनमा नर्कबिनाको स्वर्गको अस्तित्व र महत्वबारे पनि दार्शनिक व्याख्या गरिएको छ । नरक चतुर्दशीले मानिसलाई आफ्नो कर्म र त्यसको परिणामबारे सोच्न प्रेरित गर्ने मान्यता रहेको छ ।
यस दिन बिहानै अरुणोदयकालमा नदी, तलाउ वा अन्य जलाशयमा गई स्नान तथा तर्पण गर्ने चलन छ । तिलको तेल शरीरमा दलेर स्नान गर्ने परम्परालाई नरके नुहाउने भनिन्छ । कार्तिक महिनाको चिसो मौसममा स्नान गरेपछि तिलका झिँगटा बालेर ताप्ने प्रचलनसमेत रहेको छ ।
त्यसैगरी, नरक चतुर्दशीका दिन दक्षिण दिशातर्फ फर्काएर यमदीप बाल्ने र उक्त दीप नदी वा जलाशयमा बगाउने धार्मिक परम्परा छ । यसरी दीप बालेर बगाउँदा मृत्युपछि नर्कको यातना भोग्न नपर्ने धार्मिक विश्वास रहिआएको छ । दीप बगाउने यस कार्यलाई नरके बगाउने भनिन्छ ।
