निजामती विधेयकमा ‘कुलिङ पिरियड’ का विषयमा कांग्रेस-एमालेबीच मतभेद कायमै


काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय निजामती सम्बन्धी कानुन चाँडै निर्माण हुने बताएका छन् । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथिको छलफलमा गृहमन्त्री लेखकले कानुन निर्माण ढिला गरेर भएपनि राम्रो काम गरिरहेकाले उत्साहित हुनुपर्ने बताए ।
उनले विधेयकहरु सहमतिमा टुङग्याउनु उचित हुने भन्दै संघीय निजामती सम्बन्धी विधेयक पनि सहमतिमा नै टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।
गृहमन्त्रीले विधेयक टुंग्याउन थप ५–६ दिनको समय माग गरे । उनले, ‘अर्को बैठकमा टुंग्याउने गरी पाँच–छ दिनको समय पाऊँ । हामी पनि छलफल गर्छौं, साथीहरू पनि छलफल गर्नुस् ।’
खासगरी ’कुलिङ पिरियड’ बारे कांग्रेस र एमालेबीच नै मतभेद छ । नेपाली कांग्रेस कुलिङ पिरियड दुई वर्ष राख्नुपर्ने अडानमा छ भने एमाले एक वर्षमात्रै राख्नुपर्ने पक्षमा छ ।
त्यस्तै समिति सभापति रामहरी खतिवडाले समितिको अर्को बैठकबाट जसरी पनि निजामती विधेयक संसदमा पेश गर्नेगरी तयारी गर्नुपर्ने बताए ।
उनले राज्य समितिलाई कुनै राजनीति गन्ध नआउने समितिको रुपमा विकास गर्नुपर्ने बताए । उनले भने,‘समितिको अर्को बैठकबाट जसरीपनि निजामती विधेयक संसदमा पेश गर्नेगरी तयारी गर्नुपर्छ । यो समिति राजनीति गन्ध नआउने समितिको रुपमा विकास गरौं भन्ने हामी सबैको चाहना छ । यहाँ जुन पार्टीको प्रतिनिधि गर्ने भएपनि समिति हामी सबैको हो भन्ने किसिमबाट जाऔं ।’