एकीकृत समाजवादीको निर्देशनः पार्टी अध्यक्षविरुद्ध कुनै टिप्पणी नगर्नु


काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध टिप्पणी नगर्न सर्कुलर गरेको छ । आइतबार महासचिव घनश्याम भुसालले अध्यक्ष नेपालविरुद्ध नबोल्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
भुसालले नेपालको मुद्दा विशेष अदालतमा दायर भएको विषयमा पार्टीले प्रारम्भिक धारणा सार्वजनिक गरिसकेका कारण उक्त धारणासँग बाझिने गरी सार्वजनिक रूपमा नबोल्न, नलेख्न आग्रह गरेका हुन् ।
युवा संघको लुम्बिनी प्रदेश अधिवेशनमा पार्टी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष नेपालविरुद्ध कडा अभिव्यक्ति दिँदै अर्ली महाधिवेन गर्नुपर्ने बताएकी थिइन् । साथै उनले अध्यक्ष नेपालप्रति लक्षित गर्दै मरेको सिनो काँधमा बोकेर हिँड्न नसक्ने बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने ? कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’