शिक्षकसँग गरिएको सम्झौताअनुसार नै विधेयक ल्याउने तयारी भएको छ: शिक्षामन्त्री पन्त


काठमाडौँ, १६ असार: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासङ्घसँग गरिएको सम्झौताअनुसार नै विद्यालय शिक्षा विधेयक २०८० ल्याउने तयारी गरिएको बताउनुभएको छ ।
आज प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकमा उहाँले शिक्षकसँग गरिएका सम्झौता कार्यान्वयनका लागि थप केही समय माग गर्नुभयो ।
आजको बैठकले विधेयक पारित गरेर जाने तयारी गरे पनि शिक्षामन्त्री पन्तले केही कुरा मिल्न बाँकी रहेकाले समय माग गर्नुभएको हो । उहाँले विधेयक सम्बन्धमा केही समय माग गरेपछि समिति सभापति अमरबहादुर थापाले बैठक स्थगित गर्नुभयो ।
“मन्त्रीका हैसियतमा मलाई सबै कुरा मिलाउन समय चाहिन्छ”, शिक्षामन्त्री पन्तले बैठकमा भन्नुभयो, “अहिले बैठक स्थगित गरौँ । अलि परिपक्व भएर विधेयक पास गरौँला ।” उहाँले बजेट विनियोजन भइसकेकाले शिक्षकसँग गरिएका नौ बुँदे सहमतिअनुसार नै विधेयक ल्याउनेसमेत जानकारी दिनुभयो ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सहमतिबाट नै विधेयक जारी गर्नुपर्ने भएकाले नै विधेयक समितिबाट पास गर्न थप समय लाग्ने बताउनुभयो । उहाँले विधेयकमा केही कुरा मिल्न बाँकी रहेका र त्यसमा छलफल भइरहेको बताउनुभयो ।
समिति सदस्य छविलाल विश्वकर्माले अथक प्रयासबाट विधेयक ल्याउने तयारी गरे पनि केही बुँदा नमिलेकाले थप छलफल गर्नुपरेको बताउनुभयो । उहाँले अधिकांश कुरा मिलेसकेको र मिल्न बाँकी विषयमा विलम्ब गर्न नहुने बताउनुभयो ।
समितिका धेरैजसो सदस्यले आज रातभरि बसेर दफावार छलफल गरेर विधेयक पारित गर्नुपर्ने धारणा राख्नुभएको थियो । समिति सदस्य डिगबहादुर लिम्बूले विधेयकलाई चाँडै टुङ्ग्याएर आआफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले आजै पारित गर्न आग्रह गर्नुभयो ।
समिति सदस्य सुमना श्रेष्ठले सांसदले कानुन बनाउने भन्दै आज नै विधेयक पारित गरेर जानुपर्ने बताउनुभयो । समिति सदस्य रेखा शर्माले विधेयकलाई अल्झाएर बस्न नहुने भन्दै आजकै बैठकबाट पारित गर्नुपर्ने भनाइ राख्नुभयो ।
समिति सदस्य प्रभु हजाराले निजामती विधेयकभन्दा चाँडै ल्याउनुपर्ने शिक्षा विधेयकलाई कसैको चाहनामा रोक्न नहुने बताउनुभयो । ज्ञानु बस्नेत सुवेदीले रातभरि काम गरेर भए पनि विधेयक पारित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
समिति सदस्य विद्या भट्टराईले विधेयक पारित गर्ने समय लम्ब्याएर राखेमा दबाब समूहले त्यतिधेरै दबाब दिने बताउनुभयो । समिति सदस्य दीपा शर्माले विधेयक पारित गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।
समिति सदस्य ईश्वरी घर्तीमगरले विधेयकलाई चाँडै टुङ्ग्याएर जानुपर्नेमा जोड दिनुभयो । समिति सभापति थापाले सरकारले चाँडै नै विधेयकलाई पारित गर्नेगरी काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।