एलिना र समीक्षाले भेटे गृहमन्त्री लेखकलाई


काठमाडौं । गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेट गरी सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या भएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
गृहमन्त्रीसँग भेटेको तस्बिर सामाजिक संजालमा राख्दै उनीहरुले आफूहरुको चरित्र हत्या भएकोप्रति गृहमन्त्रीको ध्यानकर्षण गराएको जानकारी दिएका हुन् ।
एलिनाले यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्रीलाई धन्यवाद दिँदै साथ र सद्भावनाले अझ अघि बढ्ने हिम्मत दिएको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो । तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आँच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन । जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् — ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म–सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो।’
केही दिनदेखि यी दुवै गायिकाले आफ्नो चरित्र हत्या गर्नेको प्रोफाइल सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छिन् ।