`

नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगरौंः पूर्वअर्थमन्त्री पुन

Nepal One HD २६ असार २०८२ १७:२५
अर्थ समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव दिएको छ । बिहीबार बसेको संसदको अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल भएको थियो ।

छलफलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार गर्न नहुने बताएका छन् ।

उनले पहिले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरेर केही समय हेर्नुपर्ने बताए । उनले भने, ‘अहिले नै नयाँ स्टकको लाइसेन्स दिन हतार गर्नु हुँदैन । नेप्सेको पुनर्संरचना गरेर हेर्नुपर्छ । यदि चाहिने नै रहेछ भने पछि दिँदा पनि हुन्छ, निजी क्षेत्रका लगानीकर्ता नेप्सेमा भित्राउन सरकार स्पष्ट हुनुपर्छ । पहिले लाइसेन्स दिएर नेप्सेको पुनर्संरचना अलमलमा पार्नु हुँदैन ।’

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्ज चाहिने बताए । उनले भने, ‘दोस्रो स्टक एक्सचेन्जको विषयमा धेरै अगाडिबाट विभिन्न चरणमा अध्ययन भएको अवस्था छ । सबै अध्ययनले दोस्रो स्टक एक्सचेन्ज दिँदा हुन्छ भन्ने नै मेरो बुझाइ छ, मैले देखेको पनि त्यही हो । म आइसकेपछि सरकारबाट जे निर्देशन आएको छ, म त्यहीअनुसार अगाडि बढेको छु ।’

उनले सार्वजनिक लेखा र अर्थ समितिको दुईथरी निर्देशनले आफूहरू अन्योलमा परेको बताए । उनले भने, ‘९० भन्दा मुनि नेटवर्थ हुने कम्पनीलाई आईपीओ जारी नगर्न लेखा समितिले निर्देशन दिएको थियो । अर्थ समितिले ठीक विपरीत ९० नेटवर्थ भन्दा मुनि हुने कम्पनीलाई आईपीओ जारी गर्न निर्देशन दियो । यसरी दुई वटा समितिको कुरा बाझिँदा अन्योल भयो । दुई वटा समितिको निर्देशन यसरी आउँदा कसरी अगाडि बढ्ने ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *