`

एमालेको पूर्व उपाध्यक्षको हैसियतमा विद्या भण्डारीको पत्रकार सम्मेलन

Nepal One HD ९ साउन २०८२ १७:३६
राजनीति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको पूर्व उपाध्यक्षको हैसियतमा उभ्याएकी छन् ।

नेकपा एमालेले भण्डारीको पार्टी सदस्यता खारेज गरेको घोषणा गरेपछि शुक्रबार पत्रकार सम्मेलन गरेकी भण्डारीले आफुलाई एमालेको पूर्व उपाध्यक्षको हैसियतमा उभ्याएकी हुन् ।

गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारी राजनीतिमा सक्रिय हुन नसक्ने निष्कर्षसहित सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो ।

एमालेले भण्डारीलाई पूर्व राष्ट्रपतिकै हैसियतमा रहन आग्रह गरेको थियो । तर, उनले यसलाई अस्वीकार गरेकी छिन् ।

जननेता मदन भण्डारी र नेकपा एमालेको सूर्य चिह्नअंकित ब्यानरमा पत्रकार सम्मेलन गरेकी भण्डारीले आफ्नो सदस्यता खोस्ने वा खारेज गर्ने पार्टीको निर्णय उत्तेजना र आवेगमा भन्दै त्यसलाई अपरिपक्व निर्णयको संज्ञा दिइन् ।  पार्टी राजनीतिमा आउन आफूलाई कसैले रोक्न नसक्नेदेखि ४५ वर्षयता पार्टीमा आफ्नो सक्रियतासम्मको विषयलाई भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइन् ।

पत्रकार सम्मेलनमा वाचन गरेर सुनाएको वक्तव्यको अन्तिममा भण्डारीले आफ्नो परिचय ‘पूर्वउपाध्यक्ष’ भनेर राखेकी छिन् ।

२ पृष्ठ लामो आफ्नो वक्तव्यमा उनले भनेकी छिन्, ‘म नेकपा एमालेको पार्टी जीवनमा पुन: आएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *