भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्।
उनले देशैभर खेलकुद पूर्वाधार निर्माणलाई सरकारले तीव्रता दिएको बताउँदै अब रंगशाला र खेल मैदानको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
बिहीबार दशरथ रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन्।
‘अब छिट्टै नै हामी भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अट्ने रंगशाला निर्माण गर्न लागिरहेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘दशरथ रंगशालाको क्षमता १५ हजार मात्र हो, अब हामी ५० हजार क्षमताको रंगशाला बनाउँदैछौँ।’
उनले कार्यक्रममा उपस्थित साना बालबालिकाहरूलाई सम्बोधन गर्दै भने, ‘तिमीहरू हुर्किँदासम्म, खेलाडी हुँदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भइसकेको हुनेछ।’
उनले दशरथ रंगशालाको ऐतिहासिक महत्त्वलाई सम्मान गर्दै यसको मर्मत सम्भार गर्ने र यसको दोब्बर क्षमताको नयाँ रंगशाला निर्माण गर्ने योजना रहेको सुनाए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण कार्य लगभग सकिएको र आगामी क्रिकेट सिजनका खेलहरू त्यहीँबाट सञ्चालन हुने जानकारी दिए।
उनले महिला भलिबल टिमका लागि प्रशिक्षण र अभ्यासका साथै अन्य इन्डोर खेलहरूका लागि पनि पूर्वाधार निर्माण गरिने बताए।
कार्यक्रम आयोजना गरेकोमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फालाई धन्यवाद दिँदै उनले भविष्यका खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गरे।