तराईमा पानी पुनःभरण योजना आवश्यक छ, डिपबोरिङ जडानमात्र समाधान होइन : मुख्यमन्त्री सिंह


सिरहा-मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसमा बढ्दो पानी सङ्कट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनःभरण योजना अत्यावश्यक भएको बताउनुभएको छ । उहाँले पानीको सतह घट्दै जाँदा डिपबोरिङ जडान गर्नुमात्र समाधान नभएको स्पष्ट पार्नुभयो ।
“जहाँ ठूलो डिपबोरिङ गाडिन्छ, त्यस वरिपरिका बस्तीहरूमा पानी सुक्ने समस्या देखिन थालेको छ । जमिनबाट लगातार पानी त निकालिन्छ, तर पुनः सोस्ने वातावरण छैन । पानी जमिनसम्म पुग्न नपाउँदा भूमिगत स्रोतहरू रित्तिँदै गएका छन्”, मुख्यमन्त्री सिंहले भन्नुभयो, “त्यसैले दीर्घकालीन समाधानका लागि पानी पुनःभरणलाई प्राथमिकता दिनु आवश्यक छ ।” उहाँले ‘रेनवाटर हार्वेस्टिङ’ (वर्षाको पानी सङ्कलन प्रणाली) र जमिनले वर्षाको पानी सोस्ने वातावरण सृजना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री सिंहका अनुसार अहिलेका सडक, ढल र नालाहरू ‘सिमेन्टेड’ भएकाले वर्षाको पानी जमिनमा पस्यो भनेर सोच्नै नसकिने अवस्था छ । “पानी सडकबाट नालामा र त्यसपछि खोलामा पुग्छ । जमिनसम्म टच नै हुँदैन । जमिनले पानी सोस्न नपाउँदा भूमिगत जल पुनःभरण प्रक्रिया अवरुद्ध भएको छ ।”
मुख्यमन्त्री सिंहले चुरे संरक्षणलाई पनि पानी पुनःभरणसँग प्रत्यक्ष रूपमा जोडेर हेर्नुपर्ने बताउनुभयो । “चुरे क्षेत्र तराईका लागि पानीको मुटु हो । त्यहाँको वनस्पतिले पानीलाई रोक्छ र विस्तारै जमिनमा पठाउँछ । तर अहिलेको अनियन्त्रित दोहन, फँडानी र उत्खननले त्यो प्रक्रिया समाप्त पारिरहेको छ”, उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय तहलाई घर नक्सापास गर्दा ‘रेनवाटर हार्वेस्टिङ’ अनिवार्य बनाउन, रिचार्ज पोखरी निर्माण गर्न र सिमसार क्षेत्रको संरक्षण गर्न आग्रह गर्नुभयो । यी कामहरू अभियानकै रूपमा अगाडि बढाउन आवश्यक रहेको मुख्यमन्त्री सिंहको भनाइ छ ।
यस वर्ष मधेसलाई सुक्खा प्रदेश घोषणा गरिसकिएको छ । पचास प्रतिशतभन्दा कम रोपाइँ भएको छ । भूजलको सतह घट्दै गएको र जमिनको क्षयीकरणले भविष्यमा मरुभूमिकरणको खतरासमेत बढेको मुख्यमन्त्रीको भनाइ थियो ।