वाणिज्य बैङ्कहरूको नाफामा अत्यधिक वृद्धि, कुन बैङ्कले कति कमाए ?


काठमाडौँ । वाणिज्य बैङ्कहरूको नाफामा निकै सुधार आएको छ । वाणिज्य बैङ्कहरूको नाफामा ठुलो सुधार आएको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले देखाएको हो ।
बैङ्कहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवर अनुसार अधिकांश वाणिज्य बैङ्कहरूको नाफामा उल्लेखनीय सुधार आएको छ भने केहीको नाफामा गिरावट पनि आएको छ ।
हालसम्म बैङ्कहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एभरेस्ट बैङ्क, कृषि विकास बैङ्क, सिद्धार्थ बैङ्क, एनएमबि बैङ्क, सानिमा बैङ्क, कुमारी बैङ्क, माछापुच्छ्रे बैङ्क, हिमालयन बैङ्क र प्रभु बैंकले आफ्नो खुद नाफा बढाएका छन् । तर सिटिजन बैङ्कको नाफामा भने गिरावट आएको छ ।
कुन बैङ्कको अवस्था कस्तो ?
एनएमबि बैङ्क
एनएमबि बैङ्कको खुद नाफा ४६ दशमलव २२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
एनएमबि बैङ्कको खराब कर्जा ० दशमलव ३२ प्रतिशतले बढेर ३ दशमलव ७२ प्रतिशत रहेको छ । एनएमबि बैङ्कको प्रति सेयर आम्दानी ५ रुपैयाँ ६५ पैसाले बढेर १७ रुपैयाँ ८७ पसा पुगेको छ । एनएमबि बैङ्कको खुद ब्याज आम्दानी ११ दशमलव १४ प्रतिशतले बढेर ८ अर्ब २ करोड,
नबिल बैक
नबिल बैङ्कको खुद नाफा गत वर्षमा १५ दशमलव ०१ प्रतिशतले बढेर ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस बैङ्कको खुद नाफा ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।
नबिल बैङ्कको खराब कर्जा ० दशमलव १८ प्रतिशतले घटेर ४ दशमलव २७ प्रतिशत पुगेको छ । नबिल बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९० पैसाबाट बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ ।
खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
हिमालयन बैङ्क
हिमालयन बैङ्कको खराब कर्जा सर्वाधिक रहेको छ । बैङ्कको खराब कर्जा २ दशमलव ३० प्रतिशतले बढेर ७ दशमलव २८ प्रतिशत पुगेको छ । हिमालयन बैङ्कको प्रतिशेयर आम्दानी १ रुपैयाँ २६ पैसाले बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ ।
हिमालयन बैङ्कको खुद ब्याज आम्दानी १० अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
कुमारी बैङ्क
कुमारी बैङ्क लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैङ्कले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको खुद नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको छ । बैङ्कले देखाएको नाफालाई तुलना गर्दा बैङ्कको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको छ ।
चौथो त्रैमाससम्ममा बैङ्कको इम्पेरेमन्ट चार्ज २ अर्ब ७९ करोड ६२ लाख ४१ हजार रहेको देखिएको छ । २०८१ असार मसान्तसम्म बैङ्कको इम्पेरेमेन्ट चार्ज ६ अर्ब ८४ करोड रुपैयाँ उल्लेख गरिएको छ ।
कृषि विकास बैङ्क
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कृषि विकास बैङ्क लिमिटेडले ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा बैङ्कले २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.८८ प्रतिशत बढी हो । बैकको वितरणयोग्य मुनाफा भने २ अर्ब ५५ करोड २० लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ । बैङ्कको खुद ब्याज आम्दानी ६.९३ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ७.२१ प्रतिशत घटेको छ ।
बैङ्कको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत पुगेको छ ।
सिद्धार्थ बैङ्क
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ बैङ्क लिमिटेडको खुद नाफा १० दशमलव २४ प्रतिशतले बढेको छ । गत आवमा बैङ्कको खुद नाफा ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैङ्कको यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो ।
आर्थिक वर्ष २०८०÷८१ को तुलनामा गत आवमा यस बैङ्कको वितरणयोग्य मुनाफा ३ गुणाले बढेको छ । गत आवमा बैङ्कको विवरण योग्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
बैङ्कले गत आवमा ८ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, सेवा शुल्क र अन्य आम्दानी १५.०९ प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ र सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको बढेर कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
बैङ्कको खराब कर्जा भने २.६२ प्रतिशतमा रहेको छ ।
सिटिजन्स बैङ्क
सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले कुल १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा बैङ्कले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्कको खुद नाफामा २ दशमलव ०८ प्रतिशतले घटेको छ ।
बैङ्कको खुद ब्याज आम्दानी ११ दशमलव २० प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १९ दशमलव ७४ प्रतिशतले बढेको छ । यस बैङ्कको खराब कर्जा ४ दशमलव १० प्रतिशतले बढेर ४ दशमलव ९४ प्रतिशत पुगेको छ ।
माछापुच्छ्रे बैङ्क
माछापुच्छ्रे बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमाससम्म खुद नाफा ९२.४५ प्रतिशतले बढाएको छ ।
गत आर्थिक वर्षमा बैङ्कले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैङ्कले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैङ्कको खुद नाफा ९२.४५ प्रतिशत बढेको छ ।
गत आवमा बैङ्कको खुद ब्याज आम्दानी १५ दशमलव ४१ प्रतिशतले बढेको छ । यसका साथै खुद फि तथा कमिशन आम्दानी १८ दशमलव १६ प्रतिशत, बैङ्कको कुल सञ्चालन आम्दानी १६ दशमलव ५१ प्रतिशत र सञ्चालन मुनाफा ९९ दशमलव ९१ प्रतिशतले बढेको छ ।
एभरेस्ट बैङ्क
गत आर्थिक वर्ष २०८१÷८२ मा एभरेस्ट बैङ्क लिमिटेडले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्कको खुद नाफा ३२.८१ प्रतिशतले बढेको छ ।
बैङ्कको वितरण योग्य मुनाफा भने ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैङ्कको खुद ब्याज आम्दानी १९ दशमलव ३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ छ ।
प्रभु बैंक
प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ थियो । जुन अवधिको तुलनामा करिब ९६५ प्रतिशतले बढी हो ।
बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ। बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै बैंकको प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ रहेेको छ ।